हेटौंडा – मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु, शिक्षकहरु, पूर्बविद्यार्थीहरु सहभागी कार्यक्रमको सहजीकरण विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्प कोड) का कार्यक्रम संयोजक मिनप्रसाद रिजालले गरेका थिए । हेल्प कोड नेपालले पशुपतिनाथ माविका ८० जना बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक सहयोग गर्दै आएको छ ।
पछिल्लो समयमा विद्यालयमा अध्ययन गर्ने बालबालिका मोवाईलमैत्री बन्दै गएको, विद्यालयमा पढाइमा ध्यान दिन छोडेको, छिटो रिसाउने गरेको अभिभावकरुले बताए । कोरोना महामारीको समयमा कक्षाकोठामा अध्ययन ऋंखला टुटेका कारण बालबालिकामा पढाईमा भन्दा अन्यत्रै ध्यान केन्द्रित भएको अभिभावकहरुले बताए । कोरोना महामारीका कारण थोरै समयमा धेरै युनिट पढाउन पर्ने भएका कारण बालबालिकालाई केही समस्या परिरहेको शिक्षकहरुले बताएका छन् ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक भानुभक्त आचार्यले बालबालिकाको सिकाईमा सुधार ल्याउनका लागि नियमित रुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे । बालबालिकालाई विद्यालयमा पठाएपछि ढुक्कसँग बस्ने अभिभावकलाई कम्तिमा महिनामा एक पटक विद्यालयमा उपस्थित भएर आफ्नो नानीबाबुहरुको शैक्षिक अवस्था बारे बुझ्न पनि प्रअ आचार्यले अभिभावकसमक्ष आग्रह गरेका थिए ।
यसैबीच मनहरी गाउँपालिकाको शिक्षा अधिकृत हरिचन्द्र सापकोटा, स्रोतशिक्षक पूर्णभद्र भुषाल, प्राबिधिक सहायक उषा गौतमले पशुपतिनाथ माविको कक्षा अवलोकन गरेका छन् । आइतबार कक्षा ७, ८, ९ को कक्षा अवलोकन गरी पृष्ठपोषण गरिएको थियो । कोरोना महामारीका कारण यो शैक्षिकसत्रमा कोर्स सक्न मुस्किल परिरहेको शिक्षकहरुले बताएका छन् ।