प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राक्सिराङ्गको ठाडेचुरीमा आयुर्बेद औषधालय भवनको शिलान्यास

२०८० कार्तिक २४, शुक्रबार २०:४८ बजे

हेटौंडा – राक्सिराङ्ग गाउँपालिकामा आयुर्बेद औषधालय भवन बन्ने भएको छ । वन जङ्गलमा पाइने जडीबुटीको प्राचिन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्तिको अबसरमा गाउँपालिकाको पालिकाको ५ नम्बर वडा ठाडेचुरीमा शुक्रबार आयुर्बेद औषधालय भवनको शिलान्यास गरिएको हो ।

औषधालय भवनको शिलान्यास गर्नु हुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिका भित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न हामी सबैको महत्वपुर्ण भूमिका रहेको बताए। हाम्रै गाउँ ठाउँ र जंगलमा पाइने जडिबुटीबाट बन्ने औषधिले कुनै शारीरिक असर नपर्ने भएकोले पछिल्लो समयमा आममानिस आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको समेत बताए।

गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०र८१ मा विनियोजित २० लाख बजेट मार्फत ५ कोठेको भवनको लागि स्थानीय ८६ बर्षीय बयोबृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान गरेपछि भवन निर्माणको लागि बाटो खुलेको आयुर्बेद शाखा प्रमुख रामबचन शाहले जानकारी दिए। जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ढाका टोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए।

उक्त शिलान्यास कार्यक्रमको बीच ४० जना सेवाग्राहीको स्वास्थ्य परिक्षण गरि आयुर्वेदिक औषधि वितरण गरिएको आयुर्बेद शाखा प्रमुख शाहले जानकारी दिए।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत देब चन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजा, ७ का अध्यक्ष राम बहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ को अध्यक्ष राजकुमार बल्पा थिङ्ग, कार्यपालिका सदस्य, कर्मचारीहरु लगायतको आतिथ्यता रहेको थियो ।