हेटौंडा – आइतबार दिउँसोदेखि अवरुद्ध भएको पुर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । मृतक आफन्त, स्थानीय र प्रहरी प्रशासनबीच सहमति भएपछि राजमार्ग सूचारु भएको हो ।
मृतक सापकोटाका आफन्त र स्थानीयसँगको छलफलमा ठक्कर दिने सवारीको छिटोभन्दा छिटो पहिचान गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सहमतिपछि अवरुद्ध राजमार्ग सञ्चालन भएको बताईएको छ ।
शनिबार त्रिभुवन राजपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १ तिरतिरे धारानजिकै भैसेंतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हेटौंडा–६ चौघडाका ५० वर्षीय कृष्ण सापकोटाको मृत्यु भएको थियो ।
सापकोटाको मृत्यु सवारीको ठक्करबाट भएको बताईएपनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटना के–कसरी भएको हो ? भन्ने खुलाएको थिएन ।
घटनाको अनुसन्धान गरि मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन तत्काल पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने माग सहित मृतकका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवापनुरको कार्यालय अगाडि राजमार्ग बन्द गर्दै धर्ना दिएका थिए ।
घटना भएको २४ घण्टा वित्दा समेत ठक्कर दिने सवारीसाधनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आफन्त र स्थानीय विरोधमा उत्रिएका थिए ।
शंकास्पद एउटा स्कारपियो र चालकलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा अस्पतालमा पोस्टमार्टमका लागि राखिएको सापकोटाको शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको बताईएको छ