हेटौंडा – पूर्वराजा ज्ञानेन्द्र शाह आज मकवानपुरको हेटौंडा आउने भएका छन् । उनको स्वागतका लागि हेटौंडाका विभिन्न ठाउँमा राप्रपा मकवानपुरले ठुलै तामझाम गरेको छ । पूर्वराजा शाहको स्वागत तथा कार्यक्रम व्यवस्थापनका लागि मुल समारोह समितिनै बनाएर राप्रपा मकवानपुरले तयारी गरेको हो ।
शाहले हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा शाह आउने भएको राप्रपाका सांसद तथा कार्यक्रम संयोजनक दिपक बहादुर सिंहले बताए।
सांसदको सिंहले आज हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए । पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।
त्यस्तै राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । उनले हेटौंडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यतालिका रहेको उनले बताए ।