हेटौंडा – मकवानपुरको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनको मतगणना हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले शनिबार सुचना जारी गरी मतगणना स्थलको जानकारी दिएको हो ।
मतगणना स्थलमा सीसीटीभी जडान गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मतगणना स्थलमा तारजालीसहितको घेरबार समेत गरिएको निरौलाले बताए । यसअघि स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मतगणना सिदार्थ माविमै गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार मकवानपुरको १ सय ६५ वटै मतदानस्थलमा आवस्यक सामग्रीसहित निर्वाचनमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगेर धमाधम मतदान केन्द्रहरु निर्माणको तयारी गरिरहेका छन् ।
मकवानपुरमा १६७ वटा मतदानस्थल र दुई अस्थायी सहित ३६४ वटा मतदान केन्द्र छन् । मतदानकेन्द्र मध्ये मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र रहो छन् । निर्वाचन सम्पन्न गर्न करिब ३ हजार जना कर्मचारी परिचालन गरिएको निरौलाले बताए ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा गरेर तीन लाख ७३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नं.१ मा १ लाख ५० हजार १५५ र क्षेत्र नं.२ मा १ लाख ५० हजार ५७८ मतदाता रहेका छन् ।प्रतिनिधि दुई र प्रदेशसभा चार गरी कुल छ पदका लागि ६९ जना चुनावी प्रतिस्पर्धामा छन् ।