प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

राष्ट्रपति भण्डारी भोली हेटौंडा आउने

२०७९ फाल्गुन ८, सोमबार ०७:०३ बजे

हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारी भोलि मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएकी छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पातालको नयाँ भवनको उद्घाटन गर्नका लागि उनी यहाँ आउन लागेकी हुन् ।

प्रतिष्ठानको पत्रकार भेटघाटको कार्यक्रममा रजिष्ट्रार राजेश प्रसाईले मंगलबार राष्ट्रपति भण्डारीले अस्पतालको नवनिर्मित भवन उद्घाटन कार्यक्रम तय भएको जानकारी दिए । संघीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा २०७९ मा असोजमा भवन निर्माण सम्पन्न भएको थियो ।

राष्ट्रपति भण्डारी आउने कार्यक्रम सफल बनाउनको लागि प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेर चार उपसमिति बनाएर तयारी तीब्र पारेको छ । मूल आयोजक समितिका अनुसार राष्ट्रपति भण्डारी मंगलबार बिहान ११ बजे कार्यक्रम स्थल आइपुग्ने कार्यक्रम तय भएको छ ।

रजिष्ट्रार प्रसाईका अनुसार कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रतिष्ठानका सहकुलपति तथा प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनेछन् ।

निर्माण सम्पन्न भएलगतै अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त भवनमा हाल २०० शैयाको अस्पताल सञ्चालन भइरहेको हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले बताए । नयाँ भवन निर्माण भएसँगै हेटौंडा अस्पतालले आफ्ना सेवाहरू र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरीय बनाउँदै अघि बढेको उनले बताए ।

हाल हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकहरूसहितको सेवा दिँदै आएको र हाल २४ सै घण्टा सिटी स्क्यान सेवा, आइसियु सेवाहरू सञ्चालनमा रहेको छ । अस्पतालले केही समयमा नै एमआरआई सेवा र बालबालिकाका लागि एनआइसियू, पिआइसियू सेवा थप गर्ने तयारी भइरहेको बताईएको छ ।

अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्या, नयाँ भवनको ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन रहेको छ । अस्पतालमा नाक, कान, घाँटी, बालरोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रसाईँले बताए ।

यसअघि अस्पतालको पुरानो भवन साँघुरो र सेवाग्राहीको चाप बढ्दा सेवा प्रवाहमा समस्या थियो । नयाँ भवनबाट सेवा प्रवाह थालेपछि भने केही समस्याहरू समाधान भएपनि अझै थुप्रै सुधारहरू गर्न बाँकी रहेको छ । 

अस्पतालमा ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू रहेका छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेका छन् ।

हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू, ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ । अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ ।अस्पतालका अनुसार हाल दैनिक ७/८ सय बिरामीहरूले सेवा लिने गरेका छन् । 

प्रदेश सरकारले निर्माण प्रारम्भ गरेको ५२ करोड लागतको ६ तले अर्को भवन निर्माणाधीन रहेको छ । उक्त भवन बनिसकेपछि अस्पताललाई तीन सय बेड सम्मको अस्पताल बनाउने योजना रहेको छ ।