मकवानपुर – मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई पदबाट हटाइएको छ । पुडासैनीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न रहेको देखिएकाले पुडासैनीलाई उक्त सहायक निर्वाचन अधिकृतको पदबाट हटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुडासैनीलाई पदबाट सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो।
त्यस्तै सहायक निर्वाचन अधिकृतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिवाकोटीलाई मकवानपुरगढी गाउँपालिकामा पठाइएको हो ।
त्यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन आग्रह गरेको हो । बैठकले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नेरगराउने निर्णय गरेको छ ।