हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा १०५ सांसदले मत दिए । विपक्षमा ३ जना सांसदले मत दिए।
नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विश्वासको मत दिएनन्। उनीहरुले विपक्षमा मत दिए भने एक सांसद अनुपस्थित थिए । जम्कट्टेललाई बहुमतका लागि ५६ सांसद आवश्यक थियो। पुस २५ गते मुख्यमन्त्रीको दाबी पेस गर्दा उनलाई ७० सांसदको समर्थन रहेको थियो।
नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ ।
प्रदेशसभामा रहेका एक सय १० जना सांसद मध्ये सबैभन्दा बढी कांग्रेसका ३७ सांसद छन् । नेकपा एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।