हेटौंडा – आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आगामी पुसको तेस्रो साताबाट हेटौंडामा हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशभरका २० टोली सहभागीको सहभागिता रहनेछ । मकवानपुर, चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका क्लबहरु सहभागी हुनेछन् । सम्भव भएसम्म भारत र बंगलादेशबाट पनि टोली ल्याउनले तयारी भइरहेको उप्रेतीले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार, उपविजेताले ५५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए । म्यान अफ दी सिरिजलाई १५ हजार, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा करिब १४ लाख ९६ हजार रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब, जेसीज, लायन्स क्लब तथा विभिन्न संघसंस्थाबाट सहयोग गर्ने बताईएको छ ।