हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीको आतंक अझै रोकिएको छैन । फेरी मनहरी–७ रमौलीमा मंगलबार बिहान जंगली हात्तीले ४ वटा घरमा क्षति पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हात्तीको आक्रमणबाट स्थानीय खड्गबहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा, भगवती सुवेदीको घर अगाडिको काठको पाली, अर्जुन दाहालको घर अगाडिको पाली भत्काई १ बोरा धानमा क्षती पु¥याएको र चित्रबहादुर घलानको घरको जस्ता भत्काएको छ ।
शुक्रबार मध्यरातमा जंगली हात्तीले मनहरी–७ शान्तिटोलमा तीनवटा घरमा क्षति पु¥याएको थियो । यसैगरी हात्तीकै आक्रमणबाट पुष ७ गते शनिबार मनहरी–७ बिजौना बस्ने ५१ वर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो ।
पुस १ गते राती हात्तीले मनहरी–८ सिम्पानीस्थित टल्के चेपाङको ढुंगा र जस्ताले बनेको १ तले घरमा पूर्ण क्षति पु¥याएको थियो । यसैगरी हात्तीले स्थानीय रामबहादुर तामाङको गोठमा क्षति पु¥याएको थियो ।
यसरी हालसम्म मनहरीका एक दर्जनभन्दी घरमा क्षति गरिसकेको छ ।