प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

मकवानपुरमा ठुलो परिमाणमा लागुऔषध बरामद, नाबालक सहित ७ जना पक्राउ

२०८१ बैशाख ५, बुधबार १९:५९ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.४ बाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं.४ बस्ने बर्ष २८ को बम बहादुर चेपाङ, सोही स्थान बस्ने बर्ष २७ को विरमान प्रजा, बर्ष २७ को हरि कुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ७ बस्ने बर्ष १९ को टिकाराम प्रजा, मनहरी गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३६ को दिपक थापा मगर, मनहरी–३ बस्ने ४४ को रामहरी लुईटेल र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा निकुञ्जको मध्यवर्ति इलाकामा लागूऔषध गाँजा बोकी हिडिरहेको अवस्थामा मंगलबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट संयुक्त प्रहरी टोलीले
१३० किलो १५० ग्राम लागुऔषध गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।