प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बसपार्कको तरकारी बजार अब राप्ती उकासमा

२०७९ मंसिर २५, आईतबार ०९:१७ बजे

हेटौंडा – हेटौंडा–१० बसपार्कको तरकारी बजार स्थानान्तरणको लागि निर्माण भएको तरकारी थोक बजारको निर्माण सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित राप्ती खोलाको उकास क्षेत्रमा निर्माण भएको सो थोक बजारको आइतबार हेटौंडा उपमहागनरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरिन् ।

हेटौँडा उपमहानगरपालिका र नेपाल फलफुल तथा तरकारी व्यापारी संघ मकवानपुरको संयुक्त लगानीमा तरकारी थोक बजारको निर्माण गरिएको हो । राप्ती खोलाको किनारमा ३ बिघा क्षेत्रमा करिब ३ करोड ५० लाख रुपैयाँमा निर्माण भएको तरकारी थोक बजारमा १०६ वटा स्टल रहेका छन् ।

थोक बजारको पूर्वाधार निर्माण गर्न नेपाल फलफुल तथा तरकारी व्यापारी संघमाआबद्ध १०६ जना व्यवसायीले प्रतिव्यवसायी २ लाख ५० हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो भने हेटौैंडा उपमहानगरपालिकाले ३३ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको थियो ।

यहि हप्ताभित्र तरकारी बजारका नयाँ स्टलहरुमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न राप्ती खोलाको उकास क्षेत्रमा जग्गा उपलब्ध गराएको थियो ।

अहिले तरकारी बजार रहेको हेटौंडा बसपार्क क्षेत्रमा उपमहानगरले बस टर्मिनल निर्माण गरिरहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै मेयर लामाले तरकारी बजारलाई व्यवस्थित गर्दै व्यवसायीलाई राम्रो व्यवसायिक वातावरणको सुनिश्चितता गर्न उपमहानगर तयार रहेको बताइन् । उनले ठाउँ सारेर व्यापारमा समस्या भए उपमहानगरले सहयोग गर्ने विश्वास ब्यक्त गरिन् । 

कार्यक्रममा उपमेयर राजेश बानियाँ, सोही वडाका वडाअध्यक्ष सविन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाई, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपाने लगायत विभिन्न संघ संस्था र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।