प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

१५/१५ हजारको नोट, खतिवडा र बानियाँ किन्दैछन् भोट

२०७९ कार्तिक ४, शुक्रबार ०५:३३ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र क्षेत्र नं.२ प्रदेशसभा(ख) का उम्मेदवार इन्द्र बहादुर बानियाँले निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको पाइएको छ ।

खतिवडा र बानियाँले संयुक्त रुपमा मनहरी बहुमुखी क्याम्पसका विद्याथीलाई शैक्षिक अवलोकन भ्रमणको लागि नगद ३० हजार दिएको पाईएको हो । उक्त क्याम्पस खतिवडा र बानियाँको निर्वाचन क्षेत्रमा पर्दछ ।

प्राप्त जानकारी अनुसार नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य तथा पुर्वमन्त्री समेत रहेका खतिवडाले नगद १५ हजार र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति बानियाँले १५ हजार विद्याथीहरुलाई दिएका हुन् । क्याम्पसमा विविएस(ब्यवस्थापन संकाय)मा अध्ययनरत विद्यार्थीहरु भारतको दार्जलिङ्ग, सिक्कम लगायत क्षेत्रमा शैक्षिक अवलोकन भ्रमणको लागि जान लागेका हुन् ।

खतिवडा र बानियाँको आर्थिक सहयोगप्रति क्याम्पसका विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत हृदयदेखि नै धन्यवाद समेत दिएका छन् । ‘हामीलाई आर्थिक अभाव भएको जानकारी पाएपछि उहाँहरुले आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो,’ क्याम्पसका एक विद्यार्थीले प्रहर खबरसंग भने ।

खतिवडा आफुले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्छन्। ‘आचारसंहिता उल्लङ्घन हुने केहि पनी गरेको छैन, विद्यार्थीहरुले शैक्षिक भ्रमण जाने भने, साथीहरुबाट एक–एक हजार संकलन गरेर सहयोग गर्देको हो,’ उनले भने,‘यो चुनावी प्रयोजनको लागि होइन, भातखाने बेला होटलमा पैसा तिरेको जस्तै हो ।’

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले यस विषयमा छलफल गरेर कारवाहीको लागि निर्वाचन आयोगमा पत्राचार गर्ने बताए । ‘निर्वाचन आचारसंहित उल्लङ्घन गर्ने छुट कसैलाई छैन, हामी छलफल गरेर कारवाही प्रक्रिया अगाडि बढाउछौँ,’ उनले भने ।

निर्वाचन आचारसंहिता अनुसार राजनीतिक दल, उम्मेदवार तथा दलको भातृसंगठनले पालना गर्नुपर्ने आचारण अन्र्तगत कुनै पनि क्लब, समाजिक संस्था, धार्मिक संस्था, आमा समुह, गैरसरकारी संस्था, आश्रम जस्ता नगद तथा जिन्सी वितरण गर्न, अनुदान तथा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने ब्यवस्था छ ।