प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तेस्रो मेयर कप फुटबल प्रतियोगितामा हेटौंडा ११ च्याम्पियन

२०८० जेठ २७, शनिबार १५:१९ बजे

हेटौंडा – तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिका वडा नं.११ ले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १५ लाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटबाट विजेता उपविजेता छुट्याईएको थियो । पेनाल्टी सुटआउटमा गोलरक्षक शेख असद नायक बन्दा वडा नम्बर ११ का पहिलो पटक मेयर कपको च्याम्पियन बन्यो ।

पहिले पेनाल्टी प्रहार गर्न आएका वडा नम्बर १५ का ऋषि मोक्तान र रितेश श्रेष्ठले गोल गर्दा वडा नम्बर ११ का गोलरक्षक शेखले वडा नम्बर १५ का सियन लामाको प्रहार बचाउ गरेका थिए ।

चौथो पेनाल्टी बल प्रहार गर्न आएका वडा नम्बर १५ का विनन भोलनले गोल गरेपनि आशिष मोक्तानको प्रहार पोष्ट भन्दा बाहिरिएको थियो । वडा नम्बर ११ का सुवाश लामा, अभिन लामा, किरन तामाङ र सुदिप लामाले सहजै गोल गरेका थिए ।

उपाधि दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका वडा नम्बर ११ का गोलरक्षक असद फाइनल खेलका म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले वडा नम्बर ११ ले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता वडा नम्बर १५ ले १ लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै सेमिफाइलनमा स्थान बनाएको वडा नम्बर १४ र १५ ले नगद ५०–५०  हजार प्राप्त गर्यो ।

वडा नम्बर १५ का रितेश श्रेष्ठ प्रतियोगिताकै सर्बोउत्कृष्ट खेलाडी घोषित भए । उनले ५ लाख बराबरको जिवन बिमा प्राप्त गरे ।

त्यस्तै विधागत तर्फ चार वटै वडा नम्बर ११ का खेलाडी प्राप्त गरे । उत्कृष्ट गोलरक्षकमा शेख असद, उत्कृष्ट फरर्वाडमा मनोज घलान, उत्कृष्ट मिड फिल्डरमा पवन राई, उत्कृष्ट डिफेण्डरमा दिनेश मोक्तान घोषित भए ।

प्रतिम स्याङ्बो प्रतियोगिताक्रै सर्वाधिक गोलकर्ता हुँदा वडा नम्बर ११ का संजिब गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले ट्रफि सहित नगद ५–५ हजार प्राप्त गरेका छन् ।

नगर खेलकुद विकास समिति, हेटौंडा उपमहानरपालिकाको आयोजना भएको प्रतियोगिताको विजेतारउपविजेता तथा पुरस्कृत हुने खेलाडी तथा प्रशिक्षकलाई मेयर मिना कुमारी लामा, निवर्तमान मेयर हरि बहादुर महत, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहेको थियो ।