हेटौंडा – बिहिबार नेपाल चिकित्सक संघले एक विज्ञप्ती जारी गर्दै हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा नल्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो । तर मकवानपुर जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले ४८ घण्टा नबित्दा आन्दोलन सुरु गरेका छन् ।
आन्दोलन सुरु गर्ने चिकित्सकहरु हेटौंडा अस्पताल सहित जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थाका रहेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्र लेख्दै नेपाल चिकित्सक संघमा आवद्ध भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु भएको घोषणा गरेका हुन् ।
घटना भएको ४८ घण्टा बितिसक्दा पनि दोषिहरुलाई पक्राउ नगरेको र कानुनी दायरामा नल्याएको हुनाले आज शुक्रबारदेखि सम्पूर्ण चिकित्सकहरु इमर्जेन्सी बाहेका अन्य स्वास्थ्य सेवाहरु संञ्चालन गर्न असमर्थ रहेको चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई लेखेको पत्रमा उल्लेख छन् । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितीको जिम्मेवार नेपाल सरकार स्वयम हुने पत्रमा लेखिएको छ ।
एक महिना अघि भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको डेङ्गको कारण मृत्यु भएको सञ्चो अस्पतालका डा. विकास थापाले पुष्टि गरेका थिए । प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको टोलीले भदौ २७ गते सञ्चो अस्पतालमै गएर डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए । सीसीटीभीमा कैद भएको कुटपिटकको भिडियो सामाजिक सञ्जालभर भाइरल भएको थियो ।
डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा प्रधान, छोरा रोहित प्रधान, छोरी रमिता प्रधान तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बताए । कुटपिटमा संलग्न अन्यको खोजी कार्य भइरहेको उनले बताए ।
