हेटौँडा – हेटौँडाका खाद्यान्न पसलबाट बिक्री हुँदैआएको चामलका बोरामा तोकिएको भन्दा कम तौल भएको खाद्यान्न विक्री भएको भेटिएको छ । हेटौँडा उपमहानगरपालिका –२ स्थित कान्तिलोक पथमा रहेका खाद्यान्नका अधिकृत बिक्रेताहरुले बिक्री गर्दैआएको चामलका बोराहरु पसलमा नै अनुगमन टोलीले तोकिएको तौलभन्दा कम फेला पारेको हो ।
उपभोक्ता र खुद्रा व्यापारीको गुनासोपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरको नेतृत्वमा भएको अनुगमनका क्रममा ३० केजीको बोरामा नौ सय ग्रामभन्दा बढी तौल कम भएको चामल बिक्री गर्दैआएको पाइएको अनुगमनमा संलग्न कर्मचारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले छ वटा खाद्यान्न पसलमा अनुगमनको क्रममा चामलको बोरा तौल गर्दा अधिकांशमा कम तौल पाइएको जानकारी दिनुभयो । कम तौल पाइएका कम्पनीका चामलहरु प्रशासनसँग अनुमतिबिना बिक्री नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
अमृत ब्राण्ड र माँ दुर्गा ब्राण्डका साबित्री, जिरा मसिनो, बासमती लगायतका चामलको बोरामा कम तौल रहेको अनुगमनका क्रममा पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्याकिङ भएका बोरामा कम तौलमा चामल पाइएपछि अध्ययन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडालाई जिम्मेवारीसहित पत्राचार गरिएको बताउनुभयो । गोरखापत्रबाट