हेटौंडा – नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै सञ्जालमा लेख्दा पक्राउ परेका अभियान्ता कृष्ण कोइरालालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेको तीन घण्टापछि प्रहरीले रिहा गरेको हो ।
आरजु हेटौंडा २ स्थित जमदार ग्रुपले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केट उद्घाटनका लागि हेटौंडा आएकी थिइन् । मकवानपुर जागरण अभियानका अध्यक्ष समेत रहेका कोइरालाको टोलीले आरजुलाई कालो झन्डा देखाउने तयारीमा थिए ।
कोइरालाले आफ्नो फेसवुकमा मानब तस्करीको आरोप लागेकि काङ्रेस नेत्री आरजु राणालाइ आज हेटौडामा सार्वजनिक रुपमा बहिस्कार गरौं। भनेर लेखेका थिए ।
उद्घाटन स्थलमा आरजु आउनु भन्दा अगाडि नै प्रहरीले कोइरालालाई नियन्त्रणमा लिएको थियो । रिहापछि सञ्चारकर्मीसंग बोल्दै प्रहरीले चित्त नबुझेको कुरामा शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकारमाथि हस्तक्षेप गरेको बताए । शान्तिपूर्ण विरोध गर्न गएको मान्छेलाई नियन्त्रणमा लिएर लोकतन्त्रको धज्जी उडाउने कार्य भएको उनको भनाई छ ।
नक्कली शरणार्थी प्रकरणमा आरजुको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको छ । उक्त विषयमा आरजुको अडियो बाहिरिएको थियो । सो विरुद्ध आरजुले प्रहरीमा उजुरी समेत दिएकी छन् ।