प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एशियन कप : दक्षिण कोरिया र उज्बेकिस्तान क्वाटरफाइनलमा

२०८० माघ १७, बुधबार ०७:५९ बजे

काठमाडौँ – दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेका थिए । खेलको ४६औ मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले खेलको ९०औं मिनेटमा चो गुइ संगको गोलमा कमब्याक गरेको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । अब क्वाटरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यसैगरी यो हारपछि साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै उज्बेकिस्तान पनि थाइल्याण्डलाई २–१ पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक–एक गोल गरेका थिए । त्यस्तै थाइल्याण्डका लागि एक गोल सुपाचोक साराचाटले गरेका थिए ।

यो जितसँगै उज्बेकिस्तान क्वाटरफाइनलमा पुगेको छ र अब क्वाटरफाइनलमा उज्बेकिस्तानले आयोजक कतारको सामना गर्ने छ । त्यस्तै यो हारपछि थाइल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।