हेटौंडा – नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा पुनः बिदुर हुमागाईंलाई दोहोर्याउने भएको छ ।
नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटी अध्यक्ष रामजी सापकोटा, वर्तमान गाउँपालिका अध्यक्ष हुँमागाई लगायत गाउँपालिकाको शिर्ष नेताहरुबिच भएको गोप्य बैठकले आगामी चुनावको लागि हुमागाईंको नाम टुङ्गो लगाएको स्रोतले जानकारी दिएको छ ।
‘हामीले यसपटकको चुनावमा पनि विदुर जीलाई नै दोहो¥याउने कुरो भएको छ, भोली गाउँ कमिटीको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र विवादित वडाहरु सबैको उम्मेद्वार टुङ्गो लगाउँछौँ ,’ स्रोतले भन्यो ।
यसअघि वडा कमिटीको बैठकले वडा नं.१,२,३,६,७र८ नम्बर वडामा वडाअध्यक्ष र वडासदस्यको उम्मेद्वार सर्वसम्मत चयन गरेको थियो । त्यस्तै वडा नंं.४र५ मा वडाध्यक्षमा एक भन्दा वढीले इच्छा ब्यक्त गरेपछि नाम सिफारिस गरिएको थियो ।
वि.सं. २०७४ मा भएको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा विदुर हुमागाईंले ३ हजार ८१४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बाले ३ हजार ७१७ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी मन्दिरा केसीले ३ हजार ७०७ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै माओवादीको अध्यक्षको उम्मेद्वार भीम पाख्रीनले १ हजार ६३३ र उपाध्यक्षमा १ हजार ५९९ मत ल्याएका थिए । राप्रपाका खिलप्रसाद चौलागाईं र हीरादेवी हुमागाईंले अध्यक्ष र उपाध्यक्षमा क्रमशः ९५० र ८९८ मत प्राप्त गरेका थिए ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गुमाएपनि कांग्रेसले र एमालेले समान चारचार वडामा जितको थियो ।