हेटौंडा – टोलविकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले ५१ औं विश्व वातावरण दिवस सप्ताहब्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको छ । “प्लाष्टिकजन्य प्रदूषण निमूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं ” भन्ने मुल नाराका साथ जेष्ठ १६ गते देखि जेष्ठ २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलन मार्फत मुल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन जेठ १६ गते आज राप्तिखोला सरसफाई र वातावरण संरक्षण सम्बन्धि चेतना मुलक टिकटक प्रतियोगिता आयोजना गरिने छ । दोस्रो दिन अर्थात जेठ १७ मा पर्यावरण संरक्षण सम्बन्धि खुल्ला कविता प्रतियोगिता र सार्वजनिक सवारी साधानमा स्टिकर टास्ने तथा डस्बिन बितरण कार्यक्रम गरिनेछ । त्यस्तै तेस्रो (जेठ १८) मा वातारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी बिरुद्द सडक नाटक प्रदर्शनी र ४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
त्यसैगरी रक्तदान कार्यक्रम, बाल क्लब स्तरीय वकृत्वकला प्रतियोगिता र हेटौंडाको हुप्राचौर र राजपानीमा वृक्षारोपणको कार्यक्रम चौथो दिन जेठ १९ गते हुनेछ । पाँचौ दिन जेठ २० गते सफा हेटौंडा अभियान अन्र्तगत उमहानगरको १९ वडामा सरसफाई कार्यक्रम र वातावरण सचेतना सम्बन्धि साईकल र्याली तथा सम्मान कार्यक्रम तय गरिएको छ । जेठ २१ छैठौँ दिनमा म आफ्नै डस्टबिन बोक्छु अभियान अन्तर्गत नगरका विद्यालयहरु सचेतना मुलक कार्यक्रम गरिने छ भने नगर विद्यालय स्तरिय खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धा गराइने छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन जेठ २२ गते कपडाको झोला वितरण र उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कृत गरेपछि बाजा तथा झाकी सहितको वातावरण सचेतना सम्बन्धिर्यालीले नगरपरिक्रममा गरिनेछ । नगरपरिक्रममा गरी हेटौंडाको हुप्राचौरमा एक सहमारोहबीच सप्ताहव्यापी कार्यक्रमको समापन गरिने संयोजक अधिकारीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका प्रतियोगिताको समापन कार्यक्रममै पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरिने उनले बताए ।
सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघसंस्था, क्लब, आमा समुह, स्वयंसेविका, धार्मिक, जातिय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरीक समाजका व्यक्तित्वहरुसंग समन्वय भइरहेको संयोजनक अधिकारीले बताए ।