काठमाडौं – उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव विजयी भएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद्को ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी निर्वाचित भएका हुन् ।
शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा उनी सङ्घतर्फ १८४ र प्रदेशतर्फ ३२९ मतसहित विजयी भएका हुन् । उनी जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका थिए। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० की अष्टलक्ष्मी शाक्यले सङ्घमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गरिन्।
जनमत पार्टीका ममता झाले सङ्घमा २३ र प्रदेशतर्फ १५ मत प्राप्त गरिन्। यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गरेन् ।
यादवको कुल मतभार संघमा १४ हजार ५३६ र प्रदेशतर्फ १५ हजार ७९२ सहित ३० हजार ३२८ रहेको छ। शाक्यको संघतर्फ आठ हजार २१६ र प्रदेशतर्फ आठ हजार २१६ गरी कुल मतभार १६ हजार ३२८ छ।
झाको संघमा एक हजार ८१७ र प्रदेशतर्फ ७२० गरी कुल मतभार दुई हजार ५३७ छ। यसैगरी प्रमिला कुमारीको कुल मतभार ४८ रहेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघतर्फको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम छ।