काठमाडौं – डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीमाथि एक करोड एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको छ । कोइरालाले नियुक्ति लिएको २०४६ सालदेखि २०७८ सालसम्ममा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।
साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुनु पर्ने, उनले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।
साथै कोइराला सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइराला समेतको नाममा जग्गा खरिद गरेको देखिएको आयोगले जानकारी दिएको छ । आयोगले श्रीमती पौडेलको नाममा दर्ता कायम रहेको जग्गाको धर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएको खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत बराबरको भागको स्रोत नखुलेको सम्पत्तिबाट बिगो जरिमाना जफत गर्न पनि माग गरेको छ ।