मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुद यादवचन्द्र शर्मा चीन भ्रमणमा निस्किएका छन् । पाँच सदस्यीय टोलीसहित आज उनी पाँच दिने चीन भ्रमणका लागि निस्किएका हुन् ।
आजबाट सुरु भएको प्रमुखको भ्रमण यहि २१ मङ्सिरमा सकिएर प्रमुख नेपाल फर्कने कार्यक्रम रहेको छ । प्रमुखको भ्रमण टोलीमा प्रमुख शर्मा पत्नी उर्मिला शर्मा, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उप सचिव गोविन्द प्रसाद पौडेल रहेका छन् ।
जनवादी गणतन्त्र चीनको युनान प्रदेशबाट प्रदेश प्रमुख शर्माको नेतृत्वमा पाँच सदस्य भ्रमण टोलीलाई भ्रमणको लागि निमन्त्रण भई आएकाले टोली आज अपरान्ह पाँच बजे प्रस्थान गरेको हो ।
भ्रमणबाट बागमती प्रदेश र जनवादी गणतन्त्र चीनका युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापित भई कृषि पर्यटन लगायतका क्षेत्रमा आपसी सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेश प्रमुख शर्मा वैदेशिक भ्रमण चीनमा रहेकाले यस अवधिको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् ।
बागमती प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेश प्रमुख गुरूङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।