हेटौंडा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान वीर अस्पतालमा पुगेर काभ्रे महाभारत गाउँपालिका ६ का पुर्व जनमुक्ति सेनाका योद्धा(सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने प्रतिवद्धता गरे । उनले उपचार खर्चको लागि पार्टीले सहयोग गर्ने र सरकारसँग पनि कुरा गर्ने बताए । उनले ७ बर्षको बच्चाको पढाई र मेडमको रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
मकवानपुरको झुरझुरेमा तत्कालीन शाही नेपाली सेना र माओवादीको जनमुक्ति सेनाबीच भीडन्तमा परी राना घाइते भएका थिए । उक्त भीडन्तमा ठूलो मानवीय क्षति भएको थियो। माओवादीतर्फ घटनास्थलमै २१ जना र पछि घाइतेहरूमध्ये ७ जना गरी २८ जनाले ज्यान गुमाएका थिए। शाही नेपाली सेनातर्फ पनि ६० भन्दा बढी हताहती भएको थियो ।
शान्ति प्रक्रिया पछि उनि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आएका थिए। टाउकोमा लागेको चोट बल्झिएपछी उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ। हाल उनको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उनको उपचार भैरहेको छ।