प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा जनप्रतिनिधिको अकर्मण्यता, किन रोकियो भुक्तानी ?

२०७९ आश्विन २, आईतबार १४:४२ बजे

हेटौंडा – प्राय ‘ठेकेदार सम्पर्कविहीन भए, श्रमिकले ज्याला पाएनन्’ भन्ने ब्यापक गुनासो आउँछ । तर, पछिल्लो समय ‘काम सकियो, स्थानीय तहले भुक्तानी दिएन’ भन्ने गुनासो आएको छ ।

यो गुनासो हो, मकवानपुरगढी गाउँपालिकाको उपभोक्ता समितिको । गत आर्थिक बर्षमै निर्माण सम्पन्न भएका धेरै योजनाले भुक्तानी पाएको छैन । 

मकवानपुरगढी गाउँपालिका–५ का सचिन थापाले आफ्नो नेतृत्वमा ३ लाख रुपैयाँको लागतमा सिमल्टार पुच्छारमा सामुदायिक भवन निर्माण सम्पन्न गरे ।

त्यस्तै स्थानीय कृष्णप्रसाद लम्सालको नेतृत्वमा ७० लाखको लागतमा वडा नं.५ र ३ जोड्ने सामरी खोलामा पुल निर्माण भयो । हाल दुबै संरचनाहरु प्रयोगमा छन् । तर थापा र लम्साल नेतृत्वको उपभोक्ता समितिले अझै भुक्तानी पाएको छैन ।

‘भवन बनाउनुपर्छ भन्दै मलाई अध्यक्ष बनाए, भवन बनिसक्यो, अझै भुक्तानी पाको छैन’ थापाले भने । उनले भुक्तानी रोकिदा मजदुरको ज्याला र निर्माण सामग्री खरिद उधारो तिर्न समेत नपाएको गुनासो गरे ।

‘निर्माण सामग्री पैसा तिर्न बाँकी छ, दशैं आइसक्यो, काम गर्नेको ज्याला दिन बाँकी नै छ,’ लम्सालले भने ,‘काम भएपछि बहानाबाजी गरेर भुक्तानी रोक्नु राम्रो भएन ।’

कति योजनाको भुक्तानी रोकियो ?
काम गरेपनि भुक्तानी नपाउने उपभोक्ता समितिका अध्यक्षद्वय थापा र लम्साल प्रतिनिधि पात्र मात्रै हुन् । यस्तो गुनासो गर्ने पालिकाको आठ वटै वडाका एक सय भन्दा बढी उपभोक्ता समिति छन् ।

गाउँपालिकाले उपलब्ध गराएको बिवरण अनुसार पुर्वाधार विकासतर्फ मात्रै १ सय २३ वटा योजनाको भुक्तानी रोकिएको छ । भुक्तानी दिन बाँकी सबैभन्दा बढी वडा नं.६ को १९ वटा योजनाको रहेको छ ।

दोस्रो नम्बरमा वडा नं.४ को १६ वटा, वडा नं. ५ को १२ वटा, वडा नं.१ को ११ वटा, वडा नं.३ र ७ को समान १०/१० वटा रहेको छ । त्यस्तै वडा नं. ८ को ५ वटा र वटा नं.२ को ४ वटा योजनाको भुक्तानी दिन बाँकी रहेको छ भने अन्य ३८ वटा रहेका छन् ।

गाउँपालिकाको योजना शाखाका अनुसार पुर्वाधार विकासतर्फ गत आर्थिक बर्षको १ सय २३ वटा योजना ४ करोड ८५ लाख ६२ हजार भुक्तानी दिन बाँकी रहेको छ भने चालु खर्चतर्फ हिसाब किताब हुनै बाँकी छ ।

किन रोकियो भुक्तानी ?
ययअघिको बर्षमा विभिन्न योजनाको काम सम्पन्न भएपछि पनि किन रोकियो भुक्तानी ? भन्ने प्रश्न उठ्न सक्छ । काम गुणस्तरहिन भयो ? भुक्तानी प्रक्रियामै आएनन् उपभोक्ता समिति ?, तर त्यस्तो होइन । नवनिर्वाचित जनप्रतिनिधिको अकर्मण्यताको कारण भुक्तानी रोकिएको हो ।

नयाँ नेतृत्वले गत असार मसान्तदेखि गाउँपालिकाभित्र कार्यरत सबै करारका कर्मचारीलाई हटाउने निर्णय गर्यो । हटाईएका सूचिमा भौतिक निर्माणका प्राविधिकहरु पनि थिए ।

पालिकाले उपभोक्ता समिति मार्फत् अधिकांश योजनाको काम गर्छ । जुन काम पालिका इन्जिनियर र जनप्रनितिधिको निरीक्षणमा हुन्छ । मापदण्ड अनुसार काम भए, नभएको निरीक्षण र परीक्षण गरी भुक्तानीको लागि इन्जिनियरको महत्वपुर्ण भुमिका हुन्छ ।

गाउँपालिका भन्छ,‘प्राविधिकले निरीक्षण र हस्ताक्षर बिना भुक्तानी दिन सक्दैनौँ ।’ पालिकामा प्राबिधिक नै छैन, कसरी हुन्छ भुक्तानी ?

कहिले दिन्छ पालिकाले भुक्तानी ?
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी नेपालीले दशैं अगाडि नै भुक्तानी ब्यवस्था मिलाईने बताइन् । ‘कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ, हामी काम सम्पन्न भएका योजनाको अनुगमन गर्छाैँ,’उनले भनिन्, ‘हामी दशैं अगाडि नै भुक्तानी दिन्छौँ ।’

यो पनि पढ्नुस् ।