हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भई हाल हेटौंडा उपमहानगरपालिका १ चौकीटोल बस्ने ३३ बर्षीय धन बहादुर बि.क., मनहरी–१ बस्ने ४० बर्षीय अवतार सिंह डिम्डुङ, वीरगञ्ज महानगरपालिका–२१ बस्ने २५ बर्षीय सदाम हुसेन, सोही स्थानकै २२ बर्षीय मुकेश कुमार पासवान, सोही महानगर–३० बस्ने २७ बर्षीय मन्दिप कुमार यादव, बारा प्रमानिपुर गाउँपालिका ३ बस्ने २० बर्षीय तौसिफ आलम, पर्सा बौदरमाई गाउँपालिका–४ बस्ने २२ बर्षीय बिनय र सोही स्थान बस्ने २८ बर्षीय बिकास कुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोली मंगलबार हेटौंडा उपमहानगरपालिका–१४ कालिका खोल्साबाट विक र डिम्डुङलाई ६० किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान गर्दा थप ६ जना पक्राउ परेका हुन् । सदाम, मुकेश, मन्दिप, तौसिफ बिनय र बिकासलाई पर्सा प्रमानीपुर गाउँपालिका–४ केडीया आँखा अस्पताल अगाडीबाट पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बरामद गरिएको उक्त लागुऔषध सहित ८ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।