प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गृहिणी शिक्षा लागु र प्रदेश खारेज मागसहित हेटौंडामा १० दिने अभियान शुरु

२०७९ श्रावण १२, बिहीबार ०८:५७ बजे

हेटौंडा – महिला सीप विकास केन्द्र मकवानपुरले विभिन्न माग सहित १० दिने सडक अभियान गर्ने भएको छ । देशभर गृहिणी शिक्षा लागु गर्न, देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासन अन्त्य र प्रदेश सरकार खारेज माग गर्दै १० दिने सडक अभियान गर्ने भएको हो । आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै केन्द्रको अध्यक्ष रिता खनालले १० दिने सडक अभियान गर्न लागेको जानकारी दिइन् ।

उनले आफुहरुले यसअघि,२०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान संचालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताउँदै पुनः संचालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन् । महिला शिक्षालाई पुनः स्थानीय तहले लागु गर्नुपर्ने उनको भनाई छ ।

नेपाली जनतालाई प्रदेश संरचना आवश्यक नरहेकोेले तत्काल खारेज गर्नुपर्ने उनले बताइन् । उनले देशको आर्थिक अवस्था श्रीलङ्का पथतर्फ गईरहेको बताउँदै यसबाट जोगाउँन नेपाली जनताहरु जाग्न आग्रह समेत गरिन् । श्रीलङ्का बनिसकेपछि सडकमा उत्रिनु भन्दा अगाडीनै नेपाली नागरिक नजाग्ने उनको भनाई छ । देशको कार्यापालिका, न्यायपालिका, व्यवस्थापिका तीनै क्षेत्र भ्रष्ट्राचारमा लिप्त रहेको आरोप समेत लगाइन् ।

१० दिने सडक अभियान आज श्रावण १२ गते विहिबारबाट साउन २१ गते सम्म जारी रहने छ । अभियान अन्तर्गत हेटौंडा बजारको विभिन्न चोकमा पर्चा वितरण, सडक, गाउँ, चोक–चोकमा माईकिङ गर्ने, कोणसभा गर्ने, नागरिक समाजहरुसंग अन्तरक्रिया गर्ने र स्थानीयतहरुलाई ध्यानाकषर्ण पत्र बझाइने अध्यक्ष खरेलले बताइन् ।