प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राजस्व कार्यालयका कर्मचारी भन्दै रकम असुली गर्ने आठ जना पक्राउ

२०७९ मंसिर २५, आईतबार ११:१५ बजे

हेटौंडा – आन्तरिक राजस्व कार्यालयको कर्मचारी भन्दै रकम असुली गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट बिभिन्न होटल तथा रेष्टुरेन्टहरुमा राजस्व अनुगमनका लागि आएका हौं भन्दै रकम असुल गर्नेलार्इं प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २९ वर्षीय बिन बहादुर बि।क।, पाँचथर फिदिमकी २२ वर्षीया सृजना भट्टराई, अछाम बान्नीगढीका १९ वर्षीय सागर जंग लुहार, सिन्धुपाल्चोक साँगागढीचोककी २३ वर्षीया प्रमिशा तामाङ, अछामकी २३ वर्षीया दुधकला बि।क।, नुवाकोट बेलकोटगढीकी २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुर बेतकोटका २४ वर्षीय राजिब बिष्ट र कञ्चनपुरका २५ वर्षीय डेबिड धामी रहेका छन् ।

उनीहरुले होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट पाँच लाख आठ हजार छ सय चालीस रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले आन्तिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद ४९ ठेली, लेटर प्याड,  परिचय–पत्र रोजगारी आवेदन फारम, रोजगार सम्झौता फारम, स्टाम्प थान र यूपिएस एक–एक थान बरामद गरेको छ ।

उक्त घटनाको सम्बन्धमा प्रकरण (ख) र (ग) मा बरामद दशी सहित प्रकरण (क)मा पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूर तथा परिच्छेद–२५ को २७६ को कीर्ते गर्न नहुने कसूर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।