प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माछा मार्न गएका एक पुरुषको शव फेला

२०८० फाल्गुन १८, शुक्रबार १९:४६ बजे

लेखनाथ – पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। कास्की प्रहरीले शुक्रबार बिहान साढे ९ बजे पोखरा–१५ को पट्नेरीमा पर्ने सेती नदीमा ढुङ्गामा अड्किएको अवस्थामा रक्से भनी चिनिने मानबहादुर तामाङको शव फेला परेको हो।

पोखरा वडा नम्बर १७ र १५ को बिचमा पर्ने सेती नदीमा फागुन १३ गते राति माछा मार्न गएका पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए। राति १० बजे बेपत्तामध्ये ४० पोखरा–१ बस्ने वर्षीय मंगा तामाङको शव त्यसको भोलिपल्ट १४ गते भेटिएको थियो। सँगै बेपत्ता ४५ वर्षीय मानबहादुरको शव भने शुक्रबार प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए। मानबहादुरको खोजीका लागि बिहीबार पोखरा–१६, दीपमा रहेको सेतीको ड्याम खुला गरी खोजतलास समेत गरिएको थियो।

यसबिच, २१ दिनदेखि सम्पर्कविहीन पोखरा महानगर वडा नम्बर ३० का तेजराज ओझा मृत भेटिएका छन्। सेती नदी किनार गगनगौंडामा सडेको अवस्थामा शव उनको शव फेला परेको हो। बिहीबार शव फेला परेपछि सोही दिन दाह संस्कार समेतभएको छ।