प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हत्यामा संलग्न मकवानपुरका लामा पक्राउ

२०७९ जेठ १७, मंगलबार १४:२४ बजे

हेटौंडा – कुटपिट गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेका वाईबालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव सडिगलेको अवस्थामा फेला परेको थियो । अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

साथै, पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुल्न आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।