प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा तोकियो वडाको बजेट सिलिङ, कुन वडामा कति ?

२०७९ असार ५, आईतबार ०८:३६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटमा १९ वटै वडाले पाउने रकम बढाउने भएको छ ।आगामी आव २०७९/०८० मा १९ वडामा पाँच वर्षदेखि तोकिएको सिलिङभन्दा ५ करोड ७० लाख रुपियाँ थपिने भएको हो ।

नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा जेठ २६ गते बसेको स्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०/३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो ।

सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक वर्षहरूमा उपमहानगरका वडाहरूले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन ।

वडागत बजेट सिलिङ तोकिएर वडाहरुमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको छ । वडाहरुवाट बजेट सिलिङ आएपछि हेटौंडा उपमहानगरपालिकाले असार १० गते नगर परिषद् भेलाको आयोजना गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५/५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो ।

सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २/२ करोड १०/१० लाख बजेट सिलिङ तोकिएको छ भने वडा नम्बर २,३, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँ तोकिएको छ । सिलिङअनुसार वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमाहानगरले जनाएको छ ।

३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेकोमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए । अनलाइनखबरबाट