प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपभोक्ता समुहको बजेट व्यक्तिको खातामा, लालकुमार नाफामा, समुह घाटामा

२०८० भाद्र ४, सोमबार १५:४४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको हस्ताक्षर गरिएको चेक चोरेर २५ लाख रुपैयाँ रकम झिकेको आरोप लगाएका छन् ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मनहरी–६, डिपार्टमा दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङले चेक चोरी गरी २५ लाख रुपैयाँ रकम झिकेको सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिव कुमार विश्वर्कमाले आरोप लगाएका हुन् ।

विश्वकर्माका अनुसार १४ माघ २०७९ समूहको हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००१००००२४६५००१ बाट उक्त रकम झिकिएको हो । उक्त रकम लालकुमार थिङले झिकेर आफ्नो कामना सेवा विकास बैंकको खाता नम्बर ४९१४१००५५३८७७०००००१ मा जम्मा गरेको बताईएको छ । 

सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहलाई डिभिजन वन कार्यालय मनहरीले काठे पुल र वन्यजन्तुका लागि कुवा निर्माण बजेट उपलब्ध गराएको थियो । उक्त योजना कार्यसम्पन्न गरी भुक्तानी लिन छाप लगाएर हस्ताक्षर गरिएको चेक थिङ्ले चोरेर पैसा झिकेको विश्वकर्माले आरोप लगाएका छन् ।

समूहका अध्यक्ष विश्वकर्माको भनाई अनुसार चेक चोरी भएको तीन/चार दिनपछि थिङको खातामा पैसा गएको देखिन्छ । प्रहरीको समन्वयमा गरिएको छलफलमा पैसा फिर्ता गर्ने मौखिक सहमति भए पनि थिङले पैसा फिर्ता नगरेको विश्वकर्माको भनाई छ ।

पैसा फिर्ता नभएपछि वन उपभोक्ता समूहले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरीमा दिएको थियो । प्रहरीले थिङलाई झिकाएर फागुन २० गतेभित्र रकम जम्मा गर्ने ‘मौखिक भाका’ दिएर छाड्यो, तर थिङ त्यसपछि सम्पर्क विहिन भएको विश्वकर्माले बताए ।

फोनमार्फत थिङले आफुलाई ज्यान मार्ने धम्की दिने गरेको उनले बताए । ‘मैले जानाजान तँलाईं फसाउन यस्तो गरेको हुँ, जे गर्न सक्छस् गर’ भन्दै थिङले धम्क्याउने गरेको उनले सुनाए ।वनले दिएको ताकेता आइतबारबाट सकिएको, तर चेकबाट पैसा चोरी गर्ने थिङ फरार रहेकोले आफूहरु पक्राउ पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

जनप्रतिनिधिले पैसा फिर्ता गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएपनि कुनै किसिमको सहयोग नपाएको समुहको गुनासो छ । थिङलाई पक्राउ गरेर वन उपभोक्ता समितिको रकम फिर्ता गराउन सहयोग गर्न सरोकारवाला निकायहरु समक्ष अपिल गरेका छन् ।