हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ तिरतिरे धारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक भिमफेदी गाउँपालिका–६ तारगाउ बस्ने बर्ष २५ को जिनेस वाईवा र मोटरसाइकल पछाडि सवार सोही स्थान बस्ने २३ बर्षीय अर्जुन स्याङतान रहेका छन् ।
भिमफेदी–भैसे–हेटौडा सडकखण्डमा भिमफेदीबाट हेटौंडा तर्फ आउदै गरेको प्र.३–०२–०१३ प ९७५६ नम्बरको मोटरसाइकल बुधबार दिउँसो आफै अनियन्त्रित भएर रोडको साईडमा रहेको सिमेन्टको सानो खम्बामा ठोक्किँएर दुर्घटना हुँदा वाईवा र स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुबै घाइतेको उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो । त्यहा उपचार संभव नभएपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।