हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ मा राष्ट्रिय निकुञ्ज र सरोकारावालाहरुसंग छलफल भएको छ । मंगलबार मानव र बन्यजन्तुबीचको आन्तरिक द्वन्दको न्यूनिकरणको बिषयमा जनप्रतिनिधि, चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु र मध्यवर्ती वन समितिका पदाधिकारीहरुबीच छलफल भएको हो ।
मंसिरको पहिलो साता जंगली जनावारको आक्रमणबाट दुई जनाको मृत्यु भए यता स्थानीयहरु त्रसित छन् । यसअघि निकुञ्जका जनावारहरु बस्ती प्रवेश गरेर स्थानीयहरुले खेतबारीमा लगाएको अन्नपात क्षति गर्नुका साथै स्थानीयले ज्यान समेत गुमाउनु परेको थियो । यसरी जनधन क्षति हुने गरी जंगली जनावारको आंतक बढेपछि स्थानीय आक्रोशित भएका बनेका छन् ।
राष्ट्रिय निकुञ्ज आसपास बसोवास गर्ने जनताको सुरक्षमा निकुञ्जले बेवास्ता गरेको गुनासो बढेपछि वडा नं.६ का जनप्रतिनिधिहरुले सम्बन्धित निकायहरुसंग छलफल गरेको हो । निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिट्टी, बालुवा र खोलानाला मात्र नभई बस्ती संरक्षणमा हुनु पर्ने स्थानीयहरुको माग छ ।

मनहरी ६ का वडाअध्यक्ष युवराज थपलियाले निकुञ्जको कानुन बालियो हुँदा जनधनको क्षति हुँदा पनि आफुहरु मुकदर्शक हुन बाध्य भएको बताए । वन्यजन्तुले दुःख दिएको सुनाउन प्रत्येक दिन वडा कार्यालयमा स्थानीयहरु आउँछन्, तर नागरिकको समस्यामा निकुञ्ज प्रशासन मौन रहेको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामुलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । श्रोतको अभाव र कानुनको बाध्यात्मक स्थितिको कारण प्रशासनले केही गर्न नसक्ने उनले बताए । समस्या समाधानका लागि माथिल्लो स्तरमा आवश्यक समन्वय गर्ने उनको भनाई छ ।
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दिर्घकालिन समाधानको बाटो खोज्नुपर्ने बताए । उनले निकुञ्ज आसपासका बस्तिमा कंक्रिट पर्खा बनाउनु पर्ने धारणा ब्यक्त गरे । पर्खाका निर्माण गर्न आवश्यक वजेट व्यवस्थापनका गर्न संघिय र प्रदेश सरकारसंग समन्वय गर्ने बताए ।