प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापाको निधन

२०८० भाद्र ८, शुक्रबार १२:३९ बजे

हेटौंडा – मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा साहित्यकार थापाको शुक्रवार बिहान निधन भएको हो।

हेटौंडा–११ स्थायी निवासी थापालाई निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । साहित्य, शिक्षा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका थापाको ७८ वर्षको उमेरमा निधन भएको हो। थापाको पार्थिव शरीर हेटौंडा ल्याएर अन्तिम संस्कार गरिने बताईएको छ ।

शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिएका थिए । उनले थापाले कविता विधामा नयाँ दाना कविताको सुरुवात समेत गरेका थिए ।

थापाको दाना कविता संग्रह “एक निमेष अनन्तको (२०५८)”, “अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)” र कथासंग्रह “फरक आकाश (२०७२)” प्रकाशित छन् । उनी भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष समेत हुन । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्मय पुुरस्कार (२०५८) सहित विभिन्न सम्मान प्राप्त गरेका थिए ।