मकवानपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवद्र्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्ने बताएका छन् ।
एकसय ३३औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभामा उनले जनताको मौलिक हकलाई प्रत्याभूत गर्न र आवश्यक भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरुको इमान्दारी आवश्यक रहेको उल्लेख गरे ।
सो क्रममा अध्यक्ष ओलीले नेकपा (एमाले) बागमती प्रदेशद्वारा चुनाव केन्द्रीत अभियानहरुलाई समेटिएर तयार पारिएको स्मारिकाको विमोचन गरे । उनले विभिन्न राजनीतिक दल परित्याग गरी आएका विभिन्न व्यक्तिहरुलाई टीका र खादा लगाई पार्टीमा प्रवेश गराए ।
उक्त अवसरमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले तत्कालीन नेकपाको सरकारले जनतालाई स्वास्थ्य सेवालाई सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न योजनाहरु कार्यान्वयन गरेको उल्लेख गर्दै स्थानीय निर्वाचनमा शान्तिपूर्ण वातावरणसहित जनताको घरदैलोमा कार्यकर्ताहरु पुगेर उनीहरुको विश्वास जित्नुपर्ने बताए ।
उक्त अवसरमा नेकपा (एमाले)का केन्द्रीय सदस्यद्वय रामेश्वर राना र काशिनाथ अधिकारी, हेटौँडा उपमहानगरपालिकाको प्रमुख उम्मेदवार अनन्त पौडेल र उपप्रमुख उम्मेदवार सुमित्रा काफ्लेले एमालेको नीति कार्यक्रमको घेषणापत्रका बारेमा चर्चा गरेका थिए ।