हेटौंडा – गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले मकवानपुरमा प्रतिनिधिसभातर्फ एक पनि क्षेत्र पाएन । माओवादीले जिल्लाको प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमध्ये एक आफ्नो हुनुपर्ने दावि गरेपनि टिकट बाँडफाडको क्रममा एक पनि क्षेत्र नपाएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसको भागमा परेको छ । त्यहाँ महामन्त्री महालक्षमी उपाध्याय (डिना)को बढी चर्चा छ । त्यस्तै क्षेत्र नं.२ मा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । त्यहाँ पूर्व स्वास्थ्य मन्त्री तथा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाले चुनाव लड्ने निश्चित भएको छ ।
प्रतिनिधिसभातर्फ एक सिट पाएको समाजवादीले प्रदेशसभातर्फ एक पनि क्षेत्र पाएको छैन । प्रदेशसभातर्फ प्रतिनिधितर्फ एक सिट पनि नपाएको माओवादीले क्षेत्र नम्बर १ को (क) र २ को (क) पाएको छ । माओवादीबाट क्षेत्र नं. १ को (क) मा प्रेम बहादुर पुलामी(छिन्तु) र २ को (क) कुमारी मोक्तानको नाम ब्यापक चर्चामा छ ।
त्यस्तै प्रतिनिधितर्फ एक सिट पाएको कांग्रेसले प्रदेशसभातर्फ क्षेत्र नंं.१ र २ को (ख) पाएको छ । कांग्रेसबाट क्षेत्र नं.१ को (ख) मा आनन्दराम पराजुलीको नाम अगाडि देखिन्छ भने क्षेत्र नं.२ को (ख) मा बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ उठ्ने निश्चित जस्तै छ ।
मकवानपुरमा दुई वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।