हेटौंडा – लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् ।
काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका–१२ बस्ने २२ वर्षीय सुजन स्याङतानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई १ केजी ४ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट करिब ५ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ११ हजार ५०० रुपैयाँ सहित सोही ठाउँ बस्ने पर्सा वीरगंज महानगरपालिका–२९ रतनपुर घर भएका २७ वर्षीय सञ्जय आलमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले आलमलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै उदयपुर चौदण्डीगढी नगरपालिका–६ पुलचोक बेल्टारबाट लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५४ वर्षीय मंगल बहादुर विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मंगल बहादुरको घरमा गाँजा लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई करिब २ केजी ५ ग्राम परिमाणको लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै झापा मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडिबाट लागूऔषध खैरो हेरोईन सहित ईलाम चुलाचुली गाउँपालिका–४ पेल्टिमारी बस्ने ३३ वर्षीय सत्य नारायण याख्खालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई १ ग्राम ८ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
त्यसैगरी सिरहा लहान नगरपालिका–१ स्थित सडकबाट लागूऔषध र नगद सहित धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा लुकाई छिपाई ल्याउँदै गरेको करिब ९० केजी लागूऔषध गाँजा र नगद २८ हजार रुपैयाँ सहित एम्बुलेन्स चालक लामालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर