प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बसपार्कबाट विप्लवका ७ नेता–कार्यकर्ता पक्राउ

२०७९ पौष ५, मंगलबार ०७:४१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना नेताकार्यकता पक्राउ परेका छन् । 

सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौंडा बसपार्कमा पुर्वपश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सुर्य सिंहसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी पश्चिम बागमती संयोजक बिबेक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सुर्य सिंह, केन्द्रिय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरु सुरज घलान, अमन लामा, रबि रुम्बा र भुषण लामा रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको कार्यतालिका अनुसार आज(मंगलबार) १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने थियो ।

सरकारले ल्याएको अध्यादेश अहिले शितलनिवासमा पुगेर रोकिएको छ। त्यसको चौतर्फि विरोध भइरहेको छ । अध्यादेश जारी भएपछि विप्लवसहित सिके राउत, रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्ने बताईएको छ ।