काठमाडौं – गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष पदमा एमालेले सर्वाधिक मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार एमालेले नगरपालिका प्रमुखमा ३४ दशमलब ५८ अर्थात २३ लाख ४८ हजार ७ सय ९ मत प्राप्त गरेको छ। उपप्रमुखमा ३६ दशमलब २५ प्रतिशत अर्थात २२ लाख ७० हजार ३ सय २४ मत ल्याएको आयोगले जनाएको छ।
नेपाली कांग्रेसले प्रमुखमा २२ लाख ७९ हजार ३ सय ६३ अर्थात ३३ दशमलब ५६ प्रतिशत मत ल्याएको आयोगले जनाएको छ । उपप्रमुखमा उसले २४ दशमलब २ प्रतिशत मत प्राप्त गर्यो। नेकपा माओवादी केन्द्रले प्रमुखमा ६ लाख २७ हजार ६ सय ९३ अर्थात् ९ दशमलब २४ र उपप्रमुखमा ९ लाख ४९ हजार ८ सय ५८ अर्थात् १५ दशमलब १७ प्रतिशत मत ल्याएको छ ।
वडाअध्यक्षमा कांग्रेसको बढी
त्यस्तै वडा अध्यक्ष नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ । आयोगको तथ्यांक अनुुसार वडाअध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३ (४३.२८ प्रतिशत)मत ल्याएको छ । नेकपा एमालेले ३८ लाख ११ हजार ६०२ (३३.०३ प्रतिशत) मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले १५ लाख ३ हजार २४७(१३.०३ प्रतिशत) मत ल्याएको छ ।

