प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा पनि हैजा देखियो

२०७९ असार २२, बुधबार ०९:४४ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पनि हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हेटौंडाका एक ब्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले हैजा परिक्षणको लागि पठाएको दुई नमुना मध्ये एकमा हैजा पुष्टि भएको जानकारी दिए । ‘दुई मध्ये एक नमुनामा हैजा पुष्टि भएको बुझिएको छ,’ उनले भने, ‘आधिकारीक रुपमा कुन ब्यक्तिलाई लागेको हो, पुष्टि भएको छैन, हामी बुझ्दै छौँ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुम्मनलाल दासले हेटौंडा उपमहानगरपालिका र चाँगुनारायण नगरपालिकाका एक–एक जनामा हैजाको संक्रमण देखिएको बताएका छन् । उनका अनुसार हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पताल र दुवाकोटका संक्रमितको टेकु अस्पतालमा उपचार भइरहेको छ । हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको उनले बताए । 

पछिल्लो सयम काठमाडौं उपत्यकामा मात्रै देखिएको हेजाको संक्रमण हेटौंडामा पनि देखिएको हो । यसअघि काठमाडौं उपत्यकाका बागबजार,कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएको थियो ।