झापा – अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका–११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इन्द्र बहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो । असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतका व्यक्तिहरूले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । असोज १८ गते बिहान उनको शव फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।