काठमाडौं – पुसयता सुन खरिद गर्नेभन्दा गहना बिक्री गर्ने ग्राहकको सङ्ख्या बढ्न थालेको छ। सुनको मूल्य बढेको र बजारमा माग पनि घट्दै गएपछि गहना बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको हो ।
महासङ्घका अनुसार अहिले १० किलोग्रामसम्म मात्र सुन बिक्री हुने गरेको छ । चाडपर्वका बेला माग बढेकाले बजारमा सुनको अभाव भएको भन्दै कोटा बढाउन माग गरेका व्यवसायीले अहिले कारोबार ठप्प रहेकाले आयात रोक्न आग्रह गरेका हुन् ।
महासङ्घका अनुसार बिहे तथा चाडपर्वको समयमा दैनिक ४० किलोग्रामसम्म सुन बिक्री हुने गरेको छ। अहिले सुनको मूल्य पनि बढेपछि गहना बिक्री गर्ने ग्राहक बढी हुने गरेको व्यवसायीको भनाइ छ । महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय रुपियाँमा कारोबार भएको छ । गत १३ मङ्सिरमा प्रतितोला ९७ हजार चार सय रुपियाँमा कारोबार भएको थियो ।
मङ्सिरमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपालमा विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्दै आएका छन् । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चिति बढाउन गत वैशाखदेखि दैनिक २० किलोग्राम सुनको कोटा घटाएर १० किलोमा झारेको थियो ।
चालू आर्थिक वर्षको पाँच महिनामा साढे १० अर्ब रुपियाँ बराबरको सुन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्म १० अर्ब ५७ करोड ४० लाख ५७ हजार रुपियाँ बराबरको १४ लाख ६६ हजार ५८६ ग्राम सुन आयात भएको छ। गोरखापत्र दैनिकबाट