काठमाडौँ - नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टीतेल प्रतिलिटर तीन/तीन रुपियाँ मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७८ रुपियाँ, डिजेलर मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनले १ फेब्रुअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो ।
सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । बजारमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दै गएपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो ।