प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: धादिङ र मकवानपुर सेमिफाइनलमा

२०७८ चैत्र २, बुधबार १३:०८ बजे

हेटौंंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ धादिङ र घरेलु टोली मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेल धादिङले काभ्रेपलान्चोकलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । धादिङलाई जित दिलाउनका लागि विपिन कँडेलले निर्णयक गोल गरे । उनले खेलको २४ औं मिनेटमा गोल गरेका हुन् ।

निर्णयक गोल गर्दै जित दिलाउन सफल कँडेल म्यानअफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा घरेलु टोली मकवानपुर सिन्धुलीमाथि ३–० गोलको शानदार जित निकाल्दै सेमिफाइलमा प्रवेश गरेको छ । मकवानपुरका लागि ललित चौलागाईं, सुनिल घलान र समिराज थोकरले एक–एक गोल गरेका थिए ।

मकवानपुरका लागि पहिलो हाफको १८ औँ मिनेटमा चौलागाईंले गोल गर्दै १–० अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा घलानको गोल मार्फत घरेलु टोली २–० को अग्रता बनाएको थियो । दोस्रो हाफको ७४ औँ मिनेटमा थोकरले गोल गर्दै घरेलु टोलीलाई ३–० को शानदार जित दिलाए ।

दोस्रो खेलमा मकवानपुरका सुनिल घलान म्यानअफ द म्याच घाषित भए ।

अब धादिङले रामेछाप र ललितपुरबिचको विजेतासंग भिड्नेछ भने मकवानपुरले भक्तपुर र दोलखाबिचको विजेतासंग खल्नेछ । चार वटै टोलीले भोलि सेमिफाइलन प्रवेशका लागि खेल्नेछ ।

प्रतियोगिताको पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । फाइनल ६ गते हुनेछ ।