मकवानपुर । मकवानपुरमा नदीजन्य पदार्थ ( ढुंगा, गिट्टी, बालुवा)को अनियन्त्रित दोहन नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)’ बमोजिम असार १ गतेदेखि भाद्र मसान्तसम्म कुनै पनि प्रकारको उत्खननमा प्रतिबन्ध लागु गरिएको छ।
जिल्ला समन्वय समितिको कार्यालय, हेटौंडाले जारी गरेको सूचनामा भनिएको छ, "उक्त अवधिमा मापदण्ड विपरीत कार्य भएमा प्रचलित कानुन अनुसार जरिवाना तथा अन्य कानुनी कारबाही हुनेछ।"
उक्त प्रतिबन्धको मुख्य उद्देश्य भनेको प्राकृतिक स्रोतसाधनको दिगो संरक्षण, वातावरणीय सन्तुलन, तथा राजस्व संकलनमा पारदर्शिता र व्यवस्था कायम गर्नु रहेको छ।
नदीजन्य पदार्थको अनियन्त्रित दोहनबाट खोलानालाको स्वरूपमा क्षति, बाढीको जोखिम वृद्धि, र स्थानीय वातावरणीय असन्तुलन देखिन थालेपछि यस्ता कडाइ गरिएको हो।
सम्बन्धित निकायहरूले आम नागरिक, निर्माण व्यवसायी, ढुवानीकर्ता र उद्योगीहरुलाई यस अवधिमा नदीजन्य पदार्थ उत्खनन नगर्न र नगराउन अनुरोध गरेका छन्।
साथै, चोरी निकासी तथा अनधिकृत उत्खनन कार्य भइरहेको देखिएमा नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला समन्वय समितिको कार्यालयलाई जानकारी गराउन समेत सबैलाई आग्रह गरिएको छ।
नागरिकको भूमिका आवश्यक नदी तथा खोला क्षेत्रमा भइरहेका अवैध गतिविधिमा रोक लगाउन सजग र सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने जनाइएको छ।
स्थानीय बासिन्दाले आफ्नो वरिपरि यस्ता गतिविधि देखेमा तत्काल जानकारी गराइदिनु सामाजिक उत्तरदायित्व हुने जनाइएको छ।
यो प्रतिबन्धले एकातिर खोलानालाको संरक्षणमा योगदान पुग्नेछ भने अर्कोतिर दीर्घकालीन रुपमा वातावरणीय सन्तुलन र स्रोत व्यवस्थापनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ।