हेटौंडा – एउटै विद्यालयमा १० हजार विद्यार्थी अध्यापन गराउने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको दुई ठूला विद्यालय एकीकरणको प्रक्रिया बिधिवतरुपमै अगाडि बढेको छ । मकवानपुरको बिरासत बोकेका हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय मावि र भुटनदेबी माविबीच एकीकरणको प्रक्रिया अगाडि बढेको हो ।
दुबै विद्यालय ब्यवस्थापन समितिको एकीकरणमा जाने सहमतीय निर्णयसहित हेटौंडा–४ वडा कार्यालयको सिफारिस मंगलबार उपमहानगरप्रमुख मीनाकुमारी लामालाई बुझाइएको छ । मेघा विद्यालय बनाउने अवधारणासहित पहिलोचरणमा दुई ठूला विद्यालयले एकीकरणको प्रक्रिया थालनी गरेका हुन् । दुई सामुदायिक विद्यालय एकीकरण कति सम्भव होला ? त्यो हेर्न बाँकी छ । एकीकरणको मुद्दा उठान गर्ने हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देल भन्छन्–‘दुई विद्यालय एकीकरण भएपछि नजिकैका अरु पनि समाबेश गर्न सकिन्छ ।’
हेटौंडाका दुई ठूला विद्यालय एकीकृत गरी ‘मेघा विद्यालय’ बनाउने अवधारणा अगाडि बढेको र दुबै विद्यालय ब्यवस्थापन समितिको निर्णयसहित वडाको सिफारिस लिएर नगरप्रमुखसमक्ष पुगेका टोलीलाई नगरप्रमुख लामाले अब प्रक्रिया अगाडि बढ्ने बताइन् । आरामाविमा करिब २८ सय बालबालिका र भुटनदेबी माविमा २२ बालबालिका अध्ययनरत छन् । भुटनदेबीमा प्राबिधिक धारका विषय पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् । पूर्वाधार बिस्तार गर्न सकेको खण्डमा १० हजार जना विद्यार्थी पु¥याउन समस्या नहुने आरामाविका प्रधानाध्यापक रामसागर गुरागाईंको अनुमान छ ।
नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका ज्ञानसागर माविमा करिब ८ हजार विद्यार्थी छन् । हरेक वर्ष प्रबेशपरीक्षा दिने एक हजार पाँचसय विद्यार्थीलाई भर्ना लिन नसकेका आरामाविले पर्याप्त कक्षाकोठा र जनशक्ति भएको अवस्थामा चार हजारदेखि ४५ सय विद्यार्थी यही विद्यालयमा अध्ययन गर्न सक्ने बताएको छ । भुटनदेबी मावि र आरामावि एकीकृत गरी मेघा विद्यालय संचालन गर्ने विषयमा करिव ६ महिना अघि बहस अगाडि बढाइएको हो । दुबै विद्यालय एकीकृत गरी राम्रोसँग ब्यवस्थापन गर्ने हो भने बुटवलको कालिका ज्ञानसागर माविमा भन्दा धेरै विद्यार्थी हेटौंडामा हुनेछन् ।

हेटौंडा प्रदेशको राजधानी पनि भएका कारण मेघा विद्यालय संचालन गरी हेटौंडालाई शैक्षिक हव बनाउने गरी अगाडि बढ्न खोजिएको हो । १० हजार विद्यार्थी अध्ययन गर्नसक्ने भौतिक पूर्वाधार निर्माण गर्ने र गुणस्तरीय शिक्षा दिएर उत्कृष्ठ विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ प्रक्रिया अगाढि बढाइएको छ । चित्लाङमा संचालनमा आएको मदन भण्डारी प्राविधिक विश्वविद्यालय, प्रदेश सरकारले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन गरिरहेको गृहकार्यलाई पनि मेघा विद्यालय संचालनले सहयोगी साबित हुनेछ ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, त्रिविअन्तर्गतको वनविज्ञान अध्ययन संस्थान, नारयणी कलेज, सहीद आकाश मेमोरियल कलेज, एएफयू अन्तर्गतको कृषि तथा वनविज्ञान क्याम्पसले हेटौंडामा उच्चशिक्षा अध्यापन गराइरहेका छन् । १२ कक्षा पास गर्नेबित्तिकै उच्चशिक्षा अध्ययन गर्न विदेशिने विद्यार्थी पनि यहीँ रोक्ने योजनाका साथ यो अभियान अगाडि बढाइएको हो । तर, के कस्ता योजना छन् भन्ने प्रश्न अनुत्तरित नै देखिन्छ ।
यी सबै उच्चशिक्षा अध्यापन गर्ने कलेजले गुणस्तरीय विद्यार्थी पाउन सक्ने सम्भावना बढ्ने छ । हेटौंडा–४ का वडाअध्यक्ष नबीन सिग्देललगायत जनप्रतिनिधि, आरामावि र भुटनदेबी मावि ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिलगायत टोलीले नगरप्रमुख लामालाई दुई विद्यालय एकीकरण गरी मेघा विद्यालय बनाउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
दुई वा दुई भन्दा बढी विद्यालय एकीकृत गरी मेघा विद्यालय संचालन गर्दा प्रशासनिक खर्च कम हुने, गुणस्तरीय शिक्षा दिन सकिने, सामुदायिक विद्यालयप्रतिको बिश्वसनीयता बृद्धि गर्न सकिने, हेटौंडालाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने जस्ता धेरै उपलब्धी हुने बताइएको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर मेघा विद्यालय संचालनका लागि अगाडि बढ्ने तयारी भएको बताइएको छ ।
भुटनदेबी माविसँग भएको जमिनलगायतका स्रोतलाई पूर्णरुपमा सदुपयोग गर्नका लागि मेघा विद्यालय संचालन गर्ने सहमति जुटाइएको हो । भुटनदेबी माविमा ईन्जिनियरिङतर्फ कक्षा ९–१२ मा करिव २ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् । बिग स्कूल संचालन गर्दा सबैपक्षलाई फाइदा पुग्नेछ । २०१६ सालमा स्थापना भएको भुटनदेबी मावि हेटौंडा नगरकै पहिलो विद्यालय हो ।