प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडामा स्कुटर दुर्घटना: सिकारी गम्भीर घाइते

२०८१ पौष १०, बुधबार ०८:५० बजे

हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिमा भित्री सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार वनस्पतिबाट पदमपोखरीतर्फ जाँदै गरेको बा.प्र.०३–००५प ८५९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१२, पदमपोखरी निवासी ४५ वर्षीय सहदेव सिकारी गम्भीर घाइते भएका हुन्। दुर्घटनामा उनको टाउको र निधारमा चोट लागेको छ।

घाइते सिकारीलाई प्राथमिक उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनलाई भरतपुरको नयाँ पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेको स्कुटरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।