हेटौंडा – आफ्नै श्रीमतीको हत्या गरी ११ वटा टुक्रा बनाएर जंगलमा लगेर गाड्ने श्रीमानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं.५ कालीखोलास्थित काफलडाँडा बस्ने वर्ष २६ को मंगल बहादुर पाख्रिन रहेका छन् ।
गत श्रावण २८ सोमबार मंगल बहादुरको श्रीमती वर्ष २० की लक्ष्मी पाख्रिन कालिखोलास्थित सामुदायिक बनमा गाडेको अवस्थामा फेला परेकी थिइन् । सोही दिन इलाका प्रहरी कार्यालय पालुङको प्रहरीको टोली घटनास्थल सुरक्षित गरेर राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान अधिकृत प्रहरी निरीक्षकको कमाण्डमा श्रावण २९ मंगलबार बिहान घटनास्थलमा गएर घटनाको अनुसन्धान गर्ने क्रममा श्रावण २७ गते आइतरबार दिउँसो साँढे २ बजेको समयमा मंगल बहादुरले आफ्नै श्रीमती लक्ष्मीलाई आफ्नै घर भित्र धारिलो हतियात बन्चरो प्रहार हत्या गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
बन्चरो प्रहार गरी हत्या पश्चात मंगल बहादुरले लक्ष्मीको शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हालेर कालीखोलास्थित सामुदायिक वनमा लगेर खाल्डो खनेर गाडेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको कपडाहरु पनि खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो भने घटनामा प्रयोग भएको बन्चरोको बिड फुकाली घर भन्दा पुर्व तर्फ जमिनमा गाडेकै अवस्थामा फेला परेको थियो ।
मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो, र कपडाहरु समेत खाल्डोबाट बरामद हत्यामा संलग्न मंगल बहादुर तत्काल पक्राउ गरिएको उनले बताए । बुधबार मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिएर मंगल बहादुरमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।