हेटौंडा – तनहुँको छुट्टाछुटै स्थानबाट मोवाइल तथा नगद चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको व्यास नगरपालिका–२ जनजागृतीमार्ग बस्ने लक्ष्मी श्रेष्ठको घरबाट दुई थान मोबाइल चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा व्यास नगरपालिका–४ बागबजार बस्ने २२ वर्षीय ताईरे भन्ने सौरब दरै र म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने १९ वर्षीय शैलेस परियार रहेका छन् । वैशाख १० गते राति भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका–३ बाट चोरी भएका दुई थान मोबाइलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी व्यास नगरपालिका–४ बस्ने सैलेन्द्र पण्डितको डेराबाट मोबाइल तथा नगद समेत चोरी गरेको अभियोगमा सोही नगरपालिका–५ सागे बस्ने २२ वर्षीय सुनिल थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते बिहान भएको उक्त चोरीमा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले व्यास नगरपालिका–२ भोर्लेटारचोकबाट चोरी भएको मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।